नागरिकतामा उल्लेख गरिएका अपमानजनक नाम सच्याउन माग

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १५ : १६
नागरिकतामा उल्लेख गरिएका अपमानजनक नाम सच्याउन माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् । 

सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता लिँदा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका हुन् । दूरदराजका दलितहरूको नाम तत्कालीन प्रशासनले बिगारी दिएको उनको दाबी छ । त्यसरी अपमानजनक नाम राखिदिने प्रशासकलाई कारबाही गर्नुपर्ने उनको माग छ । 

सांसद सुनारले प्रशासनले बिगारिदिएका नामहरू सच्याइदिन गृहमन्त्रीसँग माग गरे । उनले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई आग्रह गरे । ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ?’, उनले भने, ‘यसको जिम्मेवार को हो ? यी नागरिकता सच्याउनलाई म गृहमन्त्री सँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस