संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १४ : २८
संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।

सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्षसमेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन्।संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्बासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन्।

उनले भनिन,  ‘संवैधानिक परिषदमा संविधान नै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु। प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ। यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् भन्ने म माग गर्न चाहन्छु। यतिबेला संवैधानिक परिषद विधेयक हाम्रो हातमा छ। हामी संशोधनको तयारीमा छाैँ, पास गर्ने तयारीमा छाैँ। म सबै माननीयज्यूहरूको यसमा ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु। यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ। चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरूमा त्यो नियुक्त गर्न सक्छौँ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।’

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावीसमेत गरिन्।

प्रतिक्रिया दिनुहोस