बैतडीमा जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १२ : १२
बैतडीमा जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन

बैतडी । जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिव रु १३ लाख राजश्व सङ्कलन गरेको हो ।

गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ ।

जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटीहरु समेत निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस