राष्ट्रिय सभाको रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोकिने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, ११ : ४९
राष्ट्रिय सभाको रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोकिने

काठमाडौं । राष्ट्रिय सभाको रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोकिने भएको छ। सोमबार बस्ने राष्ट्रिय सभाको बैठकले विषयगत समितिका सभापतिको निर्वाचनका लागि मिति र समय तोकिने कार्यसूची रहेको छ। 

अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

विषयगत समिति अन्तर्गत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिहरु रहेका छन्। सरकारलाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन समेतका लागि राष्ट्रिय सभामा संविधानको धारा ९७ बमोजिम विभिन्न समिति रहने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस