जनप्रतिनिधिले बेरोजगारी समस्याको समाधान खोज्नु पर्छः मन्त्री गहतराज

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १५ : २४
जनप्रतिनिधिले बेरोजगारी समस्याको समाधान खोज्नु पर्छः मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन्।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि आग्रह गरे।

पर्यटन र ठूला उद्योग धन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो।

उनले भने, ‘अब संघ र प्रदेशको निर्वाचनको मिति तय भइसकेको छ। र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरु हाम्रो बीचमा आउनेछन्। उनीहरुले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरु, गरिबीका समस्याहरु, अभाव र अनिकालका समस्याहरुलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरुको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्ने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढने आश्वासनसमेत दिए।

प्रतिक्रिया दिनुहोस