सप्तकोसी कटान : तीन पालिकामा हाई अलर्ट जारी

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, ०८ : ०१
सप्तकोसी कटान : तीन पालिकामा हाई अलर्ट जारी

सप्तरी । उदयपुरको बेलका नगरपालिका ८ डुम्रिबोटेमा सप्तकोसी नदीमा कटान भएपछि सप्तरीको तीन पालिकालाई हाईअलर्ट जारी गरिएको छ।

जिल्लाको सप्तकोसी, कञ्चनरुप तथा हनुमाननगर कंकालिनी नगरपालिकाको केही वडामा जोखिम बढेको भन्दै यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सप्तरी प्रशासनले आग्रह गरेको छ।

सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जोखिम रहेको ठाउँका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन्।सप्तकोसी नदीको छेउछाउमा रहेको बस्तीतर्फ इलाका प्रहरी कार्यालय कञ्चनपुर, हनुमाननगर, भारदह, प्रहरी चौकी फत्तेपुरबाट टोली खटाई स्थानीयलाई सचेत रहन आग्रह  गर्नेकाम भइरहेको एसपी काफ्लेको भनाई छ।

सप्तकोसी नगरपालिकाको वडा नम्बर ६ र ७ मा उक्त पानी पस्ने सम्भावना बढी रहेको स्थानीयले बताएका छन्।यसैगरी  कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० उच्च जोखिममा रहेको नगरप्रमुख ललन गुप्ताले जानकारी दिए।

बाढी नियन्त्रणमा नआउञ्जेलसम्मका लागि कोसी बाँधतर्फ नजान, गाई, भैंसी, बाख्रा चराउन र माछा मार्न नजान आग्रह सूचनासमेत दिइसकेको नगरप्रमुख गुप्ताको भनाई छ।

प्रतिक्रिया दिनुहोस