किरण चेम्जोङले मैदानमानै इन्गेजमेन्ट गरे

सफल खबर संवाददाता

मंगलबार, १७ साउन २०७९, १२ : ०४
किरण चेम्जोङले मैदानमानै इन्गेजमेन्ट गरे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मैदानमानै इन्गेजमेन्ट गरेका छन्। अहिले माल्दिभ्समा रहेका किरणले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई ट्रफिको साथमा औंठी पहिराउँदै विवाह प्रस्ताव राखे।

उनले आफ्नो सामाजिक संजाल इन्सटाग्राम मार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन्।किरण र प्रेमिका कन्चन निरौला लामो समयदेखि प्रेममा रहेका थिए। निरौला विमान परिचारिका रहेकी छिन्। किरणले कन्चनसँगै आमालाई पनि माल्दिभ्स लगेका थिए।

लिगमा किरणको टिम माजिया स्पोर्टस एण्ड रिक्रियशन च्याम्पियन बनेको थियो। उनले टिमलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए। माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जित्न सफल रहे। यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए। माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस