मानव बेचबिखन नियन्त्रणका लागि कुनै कसुर बाँकी राख्दैनौँः मन्त्री रेग्मी

सफल खबर संवाददाता

सोमबार, १६ साउन २०७९, १४ : ४४
मानव बेचबिखन नियन्त्रणका लागि कुनै कसुर बाँकी राख्दैनौँः मन्त्री रेग्मी

काठमाडौँ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसार–पसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरुको हेरचाहका लागि बनेका पुनःस्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पारिन्।

सोमबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले खासगरी महिला र बालबालिकाको बेचबिखन र ओसारपसार संवेदनशील विषय भएकाले आफ्नो मन्त्रालयले स्रोत र साधनले भ्याएसम्म त्यस्ता अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र पीडितलाई राहत दिनेगरी पुनःस्थापना केन्द्रलगायतको व्यवस्था गरेको बताइन्।

उनले भनिन्, ‘मन्त्रालयको दायराभित्र रहेका र स्रोतसाधनले भ्याएसम्म गर्न सक्ने कामहरु जस्ता पुनःस्थापना केन्द्रहरुलाई सहयोग गरिराखेको छ। यसको निर्माणको मन्त्रालयसँग थोरै बजेट भए पनि विनियोजना गरिरहेको छ। त्यसकारणले मन्त्रालयले कुनै पनि हालतमा यस्ता संदेनशील विषयमा कसर बाँकी राख्ने छैन भन्ने प्रतिवद्धता जनाउँदछु।’

मन्त्री रेग्मीले मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको ऐनलाई यही संसदबाटै पारित गराउने गरी तयारी गरिरहेको पनि जानकारी दिइन्। फाष्ट ट्र्याकबाट त्यसलाई अघि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उनले बताइन्।

प्रतिक्रिया दिनुहोस