फिलिपिन्सका पूर्वराष्ट्रपतिको ९४ वर्षकाे उमेरमा निधन

एजेन्सी

सोमबार, १६ साउन २०७९, ११ : ११
फिलिपिन्सका पूर्वराष्ट्रपतिको ९४ वर्षकाे उमेरमा निधन

एजेन्सी। फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ। कोभिड-१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको हिजाे दिउसो निधन भएको हो।

राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज-एन्जेल्सले पूर्वराष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छिन्।‘राष्ट्रपति फिडेल वी. रामोसको निधनबारे थाहा पाउँदा धेरै दुःख लागेको छ, उहाँले सैनिक अधिकारी एवम् प्रमुख कार्यकारीको रूपमा हाम्रो देशमा भएका ठूला परिवर्तनहरूमा आफ्नो सहभागिताका लागि इतिहासमा सुरक्षित स्थान छोड्नु भएको छ’, पूर्वराष्ट्रपतिका परिवार, मित्र, सहपाठी र सहयोगीहरूमा गहिरो समवेदना व्यक्त गर्दै सञ्चार संयोजकले भनेकी छिन्।

पूर्वराष्ट्रपति रामोसको परिवारले पनि आफ्ना अभिभावकको मृत्युबारे औपचारिक वक्तव्य जारी गरेको छ।‘हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हामी सबैलाई धन्यवाद दिन्छौँ, किनकि परिवारसँगै शोकमा रहन केही समय लाग्छ’, वक्तव्यमा भनिएको छ।

‘राष्ट्रिय प्रतिरक्षा विभाग पूर्वराष्ट्रपति रामोसको निधनमा शोकाकूल भएको छ र राष्ट्रको साथमा छ’, राष्ट्रिय प्रतिरक्षा विभागका प्रवक्ता आर्सेनियो एन्डोलोङले फिलिपिन्सको सशस्त्र बलको आधुनिकीकरण र व्यावसायिकताको श्रेय रामोसलाई दिँदै भनेका छन्।

राष्ट्रपति बन्नुअघि एक सम्मानित सिपाही, कूटनीतिज्ञ र राष्ट्रिय रक्षामन्त्रीका रूपमा उनले रामोसलाई सम्झेका छन्।फिलिपिन्सको सेनामा प्रवेश गर्नुअघि रामोसले न्यूयोर्कस्थितको अमेरिकी सैन्य प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको इलिनोइ विश्वविद्यालयमा अध्ययन गरेका थिए।

उनले फिलिपिन्सको सशस्त्र बलको प्रमुखको रूपमा पनि काम गरेका थिए। राष्ट्रपतिको रूपमा उनले करका दर र अर्थतन्त्रमा सुधारहरूलाई प्रोत्साहित गर्दै दक्षिणपूर्वी एसियाली देशको अर्थतन्त्रको पुनरुत्थानमा योगदान गरेका थिए।