मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, २१ : ११
मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

काठमाडौं । आगामी मङ्सिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । आज कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।

कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ सन्देश दिने उद्देश्यले मङ्सिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको जनाएको छ । सम्मेलनको लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी निर्माण समिति गठन गरिएको छ । कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखी २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताएका छन् । उनले विमानस्थलबाट लुम्बिनीमा बढीभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको रहेको बताउँदै लुम्बिनीमा विश्वका धेरै मानिस ल्याउने रणनीति अन्तर्गत मन्त्रालयले काम गरेको बताए ।

त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागी आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिस्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

 श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन । यसैबीच लुम्बिनी विकास कोषले गौतमबद्धको मावली गाउँ देवदहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्युजियमको उद्घाटन गरेको जनाएको छ ।