काठमाडौं । कमलादीमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको भन्दै पक्राउ परेका युवाहरू रिहा भएका छन् । उनीहरूलाई सामान्य सोधपुछपछि छोडिएको महानगरीय प्रहरी वृत्त मालीगाउँले जनाएको छ ।
सोमबार प्रहरीले कमलादीबाट सोम शर्मा, विप्लव खड्का, अर्जुन पौडेललाई प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ गरेको थियो । उनीहरू आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको थियो ।नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् ।प्लेकार्डसहित ‘नागरिकता विधेयक खारेज गर,’ ‘एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’, ‘राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ’ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० साउन २०७९, १२ : ४५
लेखकबाट थप