औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्छः विनोद चौधरी

सफल खबर संवाददाता

आइतबार, ०८ साउन २०७९, २१ : ३९
औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्छः विनोद चौधरी

काठमाडौँ ।नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष तथा सांसद विनोद चौधरीले औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदार बनाउनुपर्ने बताएका छन्।

आइतबार उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै चौधरीले औद्योगिक क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी सरकारी साझेदारी अवधारणाअनुसार औद्योगिक क्षेत्र निर्माण गर्दा निजी क्षेत्रलाई मुख्य साझेदारी बनाउनुपर्ने बताए।

उनले विगतदेखि घोषणा भएका औद्योगिक क्षेत्रको पृष्ठभूमि सकारात्मक खालको नभएको बताए। सांसद चौधरीले खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त नहुने दाबी गरे।

उनले भने, ‘अहिलेसम्म सञ्चालनमा रहेका आर्थिक क्षेत्र, इपीजेट र विभिन्न देशभरि घोषणा भएका औद्योगिक क्षेत्रको पृष्ठभूमिलाई खेलाएर हेर्‍ यौं भने त्यो त्यति सकारात्मक देखिँदैन। खालि औद्योगिक क्षेत्रको नाममा पर्खालको घेरा लगाएर औद्योगिक क्षेत्रको नाम दिँदैमा औद्योगिक क्षेत्र जीवन्त हुँदैन भन्ने कुरा हामीले देखिसक्यौं। गार्मेट क्षेत्रदेखि विभिन्न यस्ता प्रकारका घोषणा भएका छन्।

यसमा म सरकारलाई यो निजी सरकारी साझेदारीअन्तर्गत सबै किसिमका योजनामा निजी क्षेत्रका छातासंगठनलाई सक्रिय साझेदारका रुपमा अगाडि बढाउनुपर्छ। त्यो उसले उद्योग खोल्नको लागि तँछाड मछाडको वातावरण बनाउन सकोस्। त्यसको लागि कस्तो किसिमको नीति, पूर्वाधार चाहिन्छ त्यो निजी क्षेत्रले बताउँछ। निर्यातको लागि अनुदान दिनेकुरा पुरानो होइन। तर सरकारको अनुदानले निर्यातमा खासै प्रभाव पार्न सकेन। निर्यात बढ्नको लागि हामीसँग उत्पादन हुनुपर्छ।’

चौधरीले सरकारले निर्यात उद्योगलाई विगतदेखि अनुदान दिँदै आए पनि अनुदान दिएअनुसार निर्यात बढ्न नसकेको बताए। उनले अनुदानभन्दा पनि निर्यातको लागि उत्पादन विशेष हुने बताए।

 

प्रतिक्रिया दिनुहोस