प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन गरे : अध्यक्ष ओली

सफल खबर संवाददाता

शनिबार, ०७ साउन २०७९, १५ : ११
प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर बनाउन गठबन्धन गरे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीरविदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन ।

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीर गरे । मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भईरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उनले बताए । 

शनिबारबाट ललितपुरमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गरे ।

उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्‍याए । त्यस अवसरमा उहाँले सो गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताए । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस