संसदमा नागरिकता विधेयकबारे कसले के भने?

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १४ : ५४
संसदमा नागरिकता विधेयकबारे कसले के भने?

काठमाडौँ । नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्याएका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताको तर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्याएका हुन्।

उनले भने ‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनः पठाउनुपर्ने अधिकारीको माग छ।सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन्। उनले दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन्।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ? भनेर प्रश्न गरेका छन्।

यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन्।

उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।