ललितपुरमा नगर प्रहरीको क्विक रेस्पोन्स टिम

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १२ : ०४
ललितपुरमा नगर प्रहरीको क्विक रेस्पोन्स टिम

काठमाडौँ  । ललितपुर महानगरपालिकाले नगर प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) परिचालनमा ल्याएको छ। यस्तो टिम विद्युतीय दुई पाङ्ग्रे सवारीसहित सु–सज्जित हुने महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।महानगर क्षेत्रका बासिन्दालाई आइपर्ने विभिन्न समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुको भनाइ छ। 

'नगरको सुव्यवस्था कायम राख्न तथा कुनै घटना भइहाले घटनास्थलमा तुरुन्त पुग्न दुई पाङ्ग्रे विद्युतीय सवारीसहितको क्यूआरटी टोली परिचालित हुनेछ,' नगर प्रहरी प्रमुख हाछेथुले भने, 'पार्किङ रेखदेख र व्यवस्थापन गर्न, ट्राफिक जाम तथा सवारी दुर्घटना हुनसक्ने गरी राखिएका अनाधिकृत सवारी पार्किङलाई कारबाही गर्न पनि यो टोली परिचालित हुने छ। 

महानगरका मेयर महर्जनका अनुसार क्यूआरटी टोलीले नगर सफाइमा समेत सहयोग गर्नेछ। यस्तै, सार्वजनिक आवागमनमा बाधा पुर्‍याउने गरी राखिएका फुटपाथ पसल हटाउन, अनाधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्न र हटाउन पनि क्यूआरटी टोली परिचालित हुने छ। 

यस्तै, महानगरपालिकाबाट स्वीकृत नलिइ तथा मापदण्ड विपरीत अनाधिकृत रुपमा संरचना निर्माण गर्न नदिन र निर्माण भइरहेका संरचनाको काम रोक्न पनि क्यूआरटी टोली परिचालित हुने छ। 

प्रतिक्रिया दिनुहोस