काठमाडाैँ । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको बैठकका लागि संसद सचिवालयले ५ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता अनुमोदन गर्ने तयारी छ।
त्यसअघि वन तथा वातावरणमन्त्री प्रदीप यादवले सो सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।
बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, १७ : ४४
लेखकबाट थप