कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १२ : ५५
कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय

‌काठमाडाैँ  । घुस डिल प्रकरणमा मुछिएका कानुनव्यवसायी रुद्रप्रसाद पोख्रेललाई जवाफ पेश गर्न सात दिनको समय दिइएको छ।

नेपाल कानुन व्यवसायी परिषद्ले पोख्रेलका नाममा आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र जवाफ पेश गर्न भनेको हो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।

कानुनव्यवसायीको रूपमा काम गर्दा पोख्रेलले काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा तामाङलाई धरौटीमा छुटाउन न्यायाधीश कोइरालासँग फोनमा मोलमोलाइ गरेको उजुरी परेको थियो  दुईबीच भएको फोनवार्ता कानुनव्यवसायीको आचारसंहिता, २०५१ को विपरीत भएको सूचनामा उल्लेख छ। सो सम्बन्धमा कारबाही हुनु पर्ने हो‚ होइन त्यसको जवाफ पठाउन भनिएको छ।

उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य पोख्रेल अडियो सार्वजनिक भएपछि सम्पर्कविहीन छन्। न्यायपरिषद्ले न्यायाधीश कोइरालालाई निलम्बित गरिसकेको छ। परिषद्ले पनि छानबिन समिति बनाएर काम गरिरहेको छ। समितिमा न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल विज्ञ सदस्य रहेका छन्। 

प्रतिक्रिया दिनुहोस