राष्ट्रियसभा बैठकः विभिन्न विधेयक पारित

रासस

विहीबार, ३० असार २०७९, १६ : १४
राष्ट्रियसभा बैठकः विभिन्न विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामािजक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे । उनले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक रहेको बताए

यस्तै, बैठकले प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त भएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक, २०७९’ पारित गरेको छ । सो विधेयक बहुमतले पारित भएको हो ।

यस्तै, बैठकले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए।

यस्तै, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई पनि बैठकको बहुमतले पारित गरेको हो ।मन्त्री कोइरालाले संविधान अनुसार अध्यादेश संसदमा पेश गर्नुपर्ने व्यवस्थाका कारण प्रस्तुत गरिएको जानकारी दिए। उनले राष्ट्रियसभाको तर्फबाट यौन हिंसाको सम्बन्धमा पारित गरेको संकल्प प्रस्तावलाई समेत स्वागत गर्ने र त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेर अगाडि लैजान तयार रहेको बताए ।

त्यसअघि बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका तीन विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराए । सचिव फुँयालले जानकारी गराउनुभएका ती विधेयकमा ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७९’ र रेल्वे विधेयक, २०७९’ छन् ।

बैठकमा दिगो विकास तथा सुशासन समितिका ज्येष्ठ सदस्य वामदेव गौतमले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७७÷०७८’ सभामा पेश गरे । त्यस्तै, विधायन समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले ‘ विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७७÷७८’ सभा समक्ष पेश गरे ।  राष्ट्रियसभाको अर्को बैठक  साउन २ गते सोमबार १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस