चीन, भारत र रुसले मिलेर कामगरे विश्वमा स्थायित्व कायम हुने

मंगलबार, २६ मंसिर २०७४, १७ : १८
चीन, भारत र रुसले मिलेर कामगरे विश्वमा स्थायित्व कायम हुने

नयाँ दिल्ली, २६ मङसिर । एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरिएको छ ।

चीन, रुस र भारतका विदेशमन्त्रीहरुको भर्खरै भारतमा सम्पन्न भएको एक त्रिपक्षीय बैठकपछि उहाँहरुले यस्तो विश्वास व्यक्त गर्नुभएको भारतको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

उहाँहरुले यसका लागि यी तीन वटै देशले रणनैतिक सञ्चारको विकास र विस्तार गरी समन्वयात्मक रुपमा काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका पनि सो समाचारमा जनाइएको छ । भारतमा जारी १५ औँ त्रिपक्षीय बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा यो भनाई आएको हो । उक्त बैठकमा यी तीन देशका विदेशमन्त्रीहरुको सहभागिता रहेको छ ।

सो बैठकपछि मङ्गलबार नयाँ दिल्लीमा जारी विदेशमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा यी तीन देशले विश्वमा शान्ति, विकास र स्थायित्वका लागि उल्लेखनीय योगदान पु¥याउनसक्नेमा जोड दिएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त पत्रकार सम्मेलनमा भन्नुभयो– हामीलाई लाग्छ हामी तीन देशले सम्वेदनशील रुपमा र दायित्व बोध गरेर काम गर्न सक्यौँ भने क्षेत्रीय शान्तिका साथै क्षेत्रीय रुपमा समृद्धि र विश्वकै आर्थिक विकासमा पनि ठूलो योगदान पुर्‍याउन सक्नेछौँ ।

विश्वमा हाल देखिएका आतङ्कवाददेखि अरु पनि विभिन्न सङ्कटहरुको समाधान संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुन र सिद्धान्तका आधारमा समाधान हुनसक्ने भन्दै उहाँ यसका लागि चीन, भारत र रुस सहयोगी सिद्ध हुनसक्ने धारणा राख्नुभएको थियो ।

उक्त पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री सुषमा स्वराज र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ पनि उपस्थित हुनुहुन्थ्यो । विदेशमन्त्रीहरुको बैठकपछि यो पत्रकार सम्मेलन संयुक्त रुपमा आयोजना गरिएको थियो ।

त्यस क्रममा चिनियाँ विदेशमन्त्री यीले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ बैठक र यसले अवलम्बन गरेका नीतिका बारेमा पनि चिनियाँ सरकारको धारणा राख्नुभएको थियो । उहाँले उक्त बैठकपछि चीन नयाँ युगमा प्रवेश गरेको र अबका दिनमा चीनले विश्व समुदाय सँग नयाँ विश्वास र कार्यक्रमका साथ कामगर्ने योजना बनाएको पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
 
सो बैठकपछि यी तीन देशका विदेशमन्त्रीहरुले आपसी र द्विपक्षीय रुपमा पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरुले द्विपक्षीय रुपमा आआफ्ना देशका एजेण्डका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस