भानु जन्मस्थलमा पूर्वाधार निर्माण, खुला कविता गरिने

सफल खबर संवाददाता

सोमबार, २७ असार २०७९, ०८ : ०१
भानु जन्मस्थलमा पूर्वाधार निर्माण, खुला कविता गरिने

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । 

विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ । यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो । 

भानुजयन्तीको अवसरमा आज स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ ।
    
सोही अवसरमा यही  मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ । प्राप्त कवितामध्ये मूल्याङ्कन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस