सरकारको काम कारबाहीबारे समिक्षा गर्ने कोइराला पक्षको निष्कर्ष

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १७ : ०७
सरकारको काम कारबाहीबारे समिक्षा गर्ने कोइराला पक्षको निष्कर्ष

फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठकमा समिक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए ।

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसैगरी पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ ।

स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए ।

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ । पार्टीको भातृ संस्था र विभागहरुलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरुबीच छलफल भएको नेता भण्डारीले बताए।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा। रामशरण महतलगायतको सहभागिता रहेको थियो । कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।

पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस