लागुपदार्थका विरुद्ध लड्न सबैलाई प्रेरित

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १३ : २६
लागुपदार्थका विरुद्ध लड्न सबैलाई प्रेरित

काठमाडाैँ । ब्राउन सुगर केसमा झण्डै २ महिना जेल परेका र्‍यापर (गायक) लाउरे अहिले भने लागुपदार्थका विरुद्ध लड्न सबैलाई प्रेरित गरिरहेका छन्। भर्खरै उनको 'बिरामी' बोलको गीत पनि सार्वजनिक भएको छ जुन लागुपदार्थकै विषयमा केन्द्रित छ। जेल बसाइले लामो समयदेखिको लत छुटेको लाउरेले बताउँदै आएका छन्। उनी आफूले लागुपदार्थ सेवन गर्ने गरेको कुरा लाउरेले मिडियामै पनि स्विकार्दै आइरहेका छन्।

जेल बस्ने क्रममा उनको इमानदारी र सुधार देखेर नेपाल पुलिसले लागुपदार्थ विरुद्धको अभियानमा सघाउन पनि लाउरेलाई आग्रह गरेको उनले बताएका छन्। 

दुई दिनअघि सार्वजनिक संजय गुप्ताको पोडकास्टमा लाउरेले कसरी लागुपदार्थमा फसेँ भन्ने विषयमा बताएका छन्। आफू लागुपदार्थमा फस्नुको एउटा कारण असुरक्षित महसुस गर्नु पनि रहेको उनको भनाइ छ। 

'ब्याचलर पढ्दा मेरो एउटा साथी थियो। ऊ अर्को ठाउँबाट आएर पोखरामा फ्ल्याट लिएर बस्थ्यो। आमा बाउ नहुने भएपछि उसको कोठा जक्सन जस्तो भएको थियो।' पहिलोपटक ब्राउन सुगर सेवन गर्दाको अनुभव सुनाउँदै उनले भनेका छन्, 'उसको कोठामा जाँदा अरू बिडी खाइराख्थे। म पनि खान्थेँ। केही साथीहरू गाँजा खाँदा खाँदा बिचमा उठेर जाम भनेर अर्को रुम भित्र छिर्थ्यो। भित्रबाट लक गरेर के गर्थ्यो थाहा हुन्थेन। नक गर्दा पनि खोल्थेनन्, एकछिन एकछिन भन्थे।'

साथीहरूले त्यसरी लुकेर के गरिरहेका छन् भन्ने कुराले आफूलाई खुल्दुली भएको र एकदिन आफू पनि उनीहरूसँगै कोठामा पसेको लाउरेले बताएका छन्। उनले भनेका छन्, 'त्यतिवेलासम्म मलाई यो ब्राउन सुगर हो भन्ने पनि थाहा थिएन। मैले पनि ट्राइ गर्नुपर्छ कि क्या हो भन्दा उनीहरू नगर नगर, नखा यो हुक हुन्छ भन्दै थिए। तिमीहरूले खाइराछौ, मलाई पनि खान मन लाग्यो खै ले न भनेँ। पहिलोपटक देख्दा नै खाइदिएँ।'

'त्यतिवेला टन्नै खाएँ तर ट्रिप नै हानेन। के हो गाँजा जत्तिको ट्रिप पनि हान्दैन त। झन् यो अरूभन्दा कडा होइन र? भनेँ।' उनले भनेका छन्, 'उनीहरूले यसको ट्रिप बुझ्नको लागि कम्तीमा दुई तीन हप्ता, एक महिना खानुपर्ने बताए। यसको ट्रिप पनि बुझौँ न त भनेर मैले अन अफ गर्दै खाँदै गएँ। विस्तारै हुक हुन थालेँ।' 

सुरुमा अरूले किनेको खाने गरेको, विस्तारै ट्रिप बुझ्दै गएपछि आफैँले पनि किनेर खान थालेको र विस्तारै त्यो लत बनेको उनले बताएका छन्। साथै लागुपदार्थ सेवनमा मात्रै आफूले २ करोड रुपैयाँ सकेको पनि लाउरेले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस