गण्डकी प्रदेशसभा बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, १४ : ००
गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ । बजेटमाथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको बताउँदै अवरोध गरेको हो ।

प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद अवरुद्ध गरेको हो ।

गण्डकीका नेकपा एमालेका सांसद तथा पूर्वभौतिक विकासमन्त्री रानमशरण बस्नेतले अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षको कानुन विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उल्लंघन गरेको बताए । यसबारे आयोगले असार १३ गते प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र पठाइसकेको छ ।

अर्थमन्त्री बरालले बजेट व्यवस्थापनका लागि ९ अर्ब २३ करोड रुपैयाँ प्रदेश सरकारबाट संघ सरकारबाट र ५ अर्ब ९ करोड प्रदेशबाट राजश्व उठाउने बताएका थिए । त्यस्तै, बजेटमा बरालले २ अर्ब (१ अर्ब आन्तरिक र १ अर्ब नेपाल सरकारबाट) ऋण लिने उल्लखे गरेका थिए । तर, आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशतसम्ममात्रै ऋण लिन पाइन्छ ।

प्रतिक्रिया दिनुहोस