नेपाल–भारत नाका बन्द

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १५ : ०६
नेपाल–भारत नाका बन्द

काठमाडौं।  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा रहेको झोलुंगे पुल मर्मत थालिएको छ।महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। भारत सरकारले निर्माण गरेको उक्त पुल  भारतीय पक्षले नै मर्मत गर्न थालेको हो।

पुल मर्मतकै लागि भनेर नाकामा बुधबार आवतजावत बन्द समेत गरिएको छ। जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुन सक्ने विषयलाई मद्देनजर गर्दै पुलबाट हुने सबै आवागमन रोक्न लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।  

यसअघि पुलको लक भाँच्चिएको सूचना प्राप्त भएपछि दुबै देशका सुरक्षानिकायले मंगलवार दिउँसो पुलको अवलोकन तथा निरीक्षण समेत गरे। 

नेपालका तर्फबाट बैतडी जिल्लाका श्रीमान् प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा जिल्लाका सुरक्षानिकायका प्रमुखहरू‚ पूर्वाधार कार्यालयको इन्जिनियर र प्रशासकीय अधिकृत तथा भारततर्फबाट पिथौरागढ डीएम कार्यालय, पिडबल्यूडी र सुरक्षानिकाय सहितको टोलीले संयुक्त रूपमा उक्त पुलको अवलोकन तथा निरीक्षण गरेका हुन्।

उक्त निरीक्षणपछि उक्त पुलको तत्काल मर्मत गर्ने सहमति बनेको थियो। झण्डै ४ सय वर्ष पुरानो झोलुङ्गे पुल वेला–वेला मर्मत गरिँदै आएको थियो। तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ। अंग्रेजको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो।

पुरानो काठको पुल भारतीय पक्षले वेला–वेला काम चलाउनका लागि मर्मत गरे पनि पूर्ण रूपले मर्मत हुन सकेको छैन। पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यक भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन। उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए । उक्त मागको कुनै सुनुवाइ भएको छैन।

झुलाघाट नाका सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ।  

प्रतिक्रिया दिनुहोस