सान्जेन जलविद्युतको आईपीओ तत्काल बिक्री खुला नगर्न स्थानीयको आग्रह

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : २६
सान्जेन जलविद्युतको आईपीओ तत्काल बिक्री खुला नगर्न स्थानीयको आग्रह

काठमाडौं। रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको सेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । आर्थिक समस्याका कारण जिल्लावासी ले पाउने सान्जेन कम्पनीको सेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् । १३ असारदेखि १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले पनि स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ । साञ्जेनको आईपीओ पनि खुला भए स्थानीयलाई थप आर्थिक चाप पर्नेछ । यता, धितो पत्र बोर्डले सान्जेनलाई आइपिओ बिक्री गर्न अनुमति दिइसकेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकले ५७.३ मेगावाटको सान्जेन जलविद्युतको सेयर स्थगन गर्न माग गरेको हो । दुवै आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रसुवाका पाँचवटै गाउँपालिका प्रमुख तथा उपप्रमुख, बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ, राजनीतिक दलका जिल्लास्थित प्रमुख/प्रतिनिधि, नागरिक समाज लगायतले सेयर बिक्री ६ महिनापछि मात्र खुलाउन माग गरेका हुन् । 

जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण बैंकहरूलाई सहुलियत कर्जा प्रवाह गरिदिन आग्रह गरिएको छ । रसुवामा कार्यरत बैंक तथा वित्तीय संस्थाले स्थानीयको हितका लागि सुलभ कर्जा उपलब्ध गराउनुपर्ने जिल्ला समन्वय समितिले माग गरेको छ । राष्ट्रिय प्रसारण लाइनले छोएका आमाछोदिङ्मो र उत्तरगयाका वडा नम्बर १, २ र ३ नेसिङ, ग्रे, हाकु, गोगने, डाडागाउँ, ठूलोगाउँ क्षेत्रका प्रभावितलाई सेयरको व्यवस्था गर्न समेत माग गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस