माओवादी केन्द्रीय समिति बैठक : ४६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखे

मंगलबार प्रचण्डले जवाफ दिने

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, १९ : ११
माओवादी केन्द्रीय समिति बैठक : ४६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखे

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ४६ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि सोमबार चलाइएको खुला छलफल (ओपन डिस्कसन)मा सदस्यहरुले आ–आफ्नो धारणा राखेका हुन् । 

छलफलमा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले मंगलबार जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ । मंगलबार बिहान ११ बजे बैठक बसेपछि प्रचण्डले जवाफ दिनेछन् भने अन्य वरिष्ठ नेताहरुले पनि सम्बोधन गर्नेछन् । त्यसपछि बैठकका अन्य एजेण्डामा छलफल चलाइनेछ । 

छलफलमा केन्द्रीय सदस्यहरु हरिबोल गजुरेल, ओम शर्मा, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकी लगायतले आ–आफ्नो धारणा राखेको एक नेताले जानकारी दिए । 

बैठकमा मूलतः आगामी चुनावमा पार्टीलाई सशक्त बनाएर अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका छन् । तालमेल गरेर चुनावमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा पनि सदस्यहरुले जोड दिएका छन् । तर, तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै चुनावमा जानेगरी पार्टीलाई बलियो बनाइनुपर्नेमा उनीहरुको जोड छ । 

प्रतिक्रिया दिनुहोस