विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षकको अधिपत्य

शुक्रबार, १८ जेठ २०७५, १५ : ३३
विश्वकपमा अर्जेन्टिनाका प्रशिक्षकको अधिपत्य

एजेन्सी । दुई हप्तापछि फिफा विश्वकप २०१८ सुरु हुदैछ । ३२ राष्ट्रको सहभागीता रहेको विश्वकपमा यस पटक पनि अधिकांश टोलीले विदेशी प्रशिक्षकलाई आफ्नो रोजाईमा पारेका छन् ।
म्याराडोना, मेस्सीजस्ता प्रसिद्ध खेलाडी उत्पादन गरेको अर्जेन्टिनाले प्रशिक्षकतर्फ आफ्नो वर्चस्व कायम राखेको छ । विश्वकपका ३२ टोलीमध्ये ५ टोलीले अर्जेन्टिनी प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएका छन् । अर्जे्न्टिनाका जोर्गे साम्पाओली, कोलोम्बियाका जोसे पेकरम्यान, पेरुका रिकार्डो ग्यारेका, इजिप्टका हेक्टर क्युपेर र साउदी अरेबियाका जान एन्टोनियो पिज्जी सबै अर्जेन्टिना नागरिक हुन् ।
सन् १९७८ मा विश्वकप जितेका मारिओ केम्पेसले अर्जेन्टिनी प्रशिक्षकको विश्वभरनै उच्च मुल्यांकन हुँदै आएको बताए । ‘अर्जेन्टिनी प्रशिक्षकहरुको सोच्ने क्षमता फरक हुन्छ । नयाँ रणनीति अपनाउने देखि खेलको अवस्था अनुसार खेलाडी परिवर्तन गर्न उनीहरुको विशेषता रहेको पाइन्छ,’ उनले भने ।
अर्जेन्टिनाका प्रशिक्षक साम्पाओलीले जुन २०१७ मा जिम्मेवारी सम्हालेका हुन् । अर्जेन्टिना विश्वकप छनोट नहुने खतरा बढेपछि उनले बाउजाको स्थान लिएका थिए । सन् २०१४ मा चिलीको प्रशिक्षक रहँदा उनको टोलीले ब्राजिलसँग पराजित भएको थियो । साम्पाओलीले स्पेनिस क्लब सेभियाको पनि प्रशिक्षक बनिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस