चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

रासस

शनिबार, १८ असार २०७९, ०८ : ३४
चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

म्याग्दी । बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो हुँदै ६०० बढी भेडाका बथान चरनका लागि म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडा पालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ । करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका छन्त्यालले  विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडा पालन गरेका छन् । आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन् ।

छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर  धौलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामलीबाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिए ।  “विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु”, छन्त्यालले भने । छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ ।

सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडा पालन गरेका छन् । भेडाको  बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लिएका हुन् ।

एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडा पालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइ छ ।  बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउँछन् ।

छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडा पालन सुरु गरेको बताए । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । आफूबाहेक दुई हेरालोसमेत उनले राखेका छन् । 

प्रतिक्रिया दिनुहोस