चितवनमा एक वर्षमै बाघले मार्‍यो १६ जना

पत्रपत्रिकाबाट

आइतबार, १२ असार २०७९, ०७ : ४६
चितवनमा एक वर्षमै बाघले मार्‍यो १६ जना

चितवन । असार पहिलो साता भरतपुर २७ को राधा कृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेत बाघको सिकार बनिन्। साउन महिना यता मात्रै चितवनमा १६ जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्। सबैभन्दा धेरै मंसिर, चैत र जेठ महिनामा तीन–तीन जनाको आक्रमणमा निधन भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ। 

बाघको बासस्थान परिवर्तन हुँदा तथा आहार, पानी खोज्दै जाँदा मानिसहरू यसको आक्रमणमा पर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। भन्छन्, ‘बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।’ निकुञ्जको तथ्यांकअनुसार जेठ २४ गते भरतपुर २३ को घैलाघारी मध्यवर्ती वनमा बाघले आक्रमण गर्दा ५५ वर्षीया मंगली बोटेको ज्यान गएको थियो।

जेठ २७ मा एकै दिनमा दुई ठाउँमा बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणमा परेका राप्ती नगरपालिका–१ पिप्ले डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर वाइबा तामाङ घाइते र भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवा बाँच्न सफल भए। 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा धेरै नै बढी हो। बाघको संख्या बढ्नु र बाघको उपस्थिति मध्यवर्ती क्षेत्रमा बढ्न थालेको संरक्षण अधिकृत बताउँछन्। निकुञ्जका सूचना अधिकारी तिवारी भन्छन्, ‘बाघको चहलपहल बढेको छ। जंगल जाँदा सावधानी नअपनाउँदा पनि यो क्रम थप बढेको हो।’ 

स्वभावले बाघ मानिससँग डराउने र लजाउने प्रकृतिको जनावर हो। पछिल्लो घटना हेर्दा मानिस निहुरिएर काम गरेको बेला मात्रै बाघले आक्रमण गरेकोे अनुसन्धानले देखाएको सूचना अधिकारी तिवारी बताउँछन्।

घाँस काट्दा, निगुरो टिप्दा निहुरिने हुँदा बाघले जनावर ठानेर झुक्किएर आक्रमण गरेको घटनाले देखाएको उनको तर्क छ। भन्छन्, ‘उभिएर हिँडेको बेला दुर्घटना कमै भएको छ। जंगलमा पैदल हिँडेका पर्यटकलाई आक्रमण गरेको छैन। मानिस निहुरिएको बेला बाघले प्राकृतिक आहारा ठानेर आक्रमण गरेको घटनाले देखाएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस