निर्वाचनलाई सफल बनाऔँ : उपराष्ट्रपति पुन

शुक्रबार, १७ कार्तिक २०७४, १३ : २२
निर्वाचनलाई सफल बनाऔँ : उपराष्ट्रपति पुन

चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन दल र जनतालाई आह्वान गरेका छन् । नेपाल पोल्ट्री महासंघ लगायतका संघसंस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको शुक्रबार भरतपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् ।
निर्वाचनलाई सफल बनाउने कार्यमा जुट्न सबै दल र जनतालाई आह्वान गर्दछु, उपराष्ट्रपति पुनले भने, सौहाद्रपूर्ण र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेछ भन्नेमा म विश्वस्त छु । दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता उत्साहपूर्ण वातावरणमा भइसकेको छ । राजनीतिक दलका नेता र कार्यकर्ता आआफ्ना दलका एजेण्डा लिएर जनताबीच पुगिरहेका छन् ।

उपराष्ट्रपति पुनले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए । निर्वाचनमा निर्णायक शक्ति भनेको मतदाता नै भएको बताउँदै उनले मतदान कार्यमा सहभागी भई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे । विगतमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका गतिशील नेतृत्व यो जिल्लाले पाउनेछ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै उपराष्ट्रपति पुनले भने, यस अर्थमा चितवन जिल्लाको भविष्य निकै उज्ज्वल छ ।
चितवन पोल्ट्रीको राजधानी हो भन्ने कुरा अन्तर्राष्ट्रिय एक्स्पोको आयोजनाले नै पुष्टि गरेको उपराष्ट्रपति पुनको भनाइ थियो । कृषि क्षेत्र हालसम्म निर्वाहमुखी बन्दै आएको बताउँदै उनले पोल्ट्री क्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख हुनु गौरवको कुरा भएको विचार व्यक्त गरे । पोल्ट्री क्षेत्रको विकासका लागि उच्चस्तरीय प्रविधि भित्र्याउन र त्यसका लागि लगानी बढाउन उपराष्ट्रपति पुनले व्यवसायीलाई सुझाव दिएका छन् ।

एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा अन्तर्राष्ट्रियस्तरको पोल्ट्री एक्स्पोको आयोजना हुनु राम्रो काम भएको बताइन् । उनले आत्मनिर्भर बन्दै गरेको पोल्ट्री क्षेत्रको विकासका लागि भरतपुर महानगरपालिकाले लिनुपर्ने दायित्व र खेल्नुपर्ने भूमिका निर्वाह गर्दै सहयोग गर्ने वचनवद्धता प्रकट गरिने । महानगर प्रमुख दाहालले पोल्ट्री एक्स्पो ज्ञान, सीप र नवीनतम प्रविधिको प्रयोगमा सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पोको अवसरमा प्रकाशित स्मारिका विमोचन समेत गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उपकुलपति प्राडा आइपी ढकाल, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस