मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

पत्रपत्रिकाबाट

विहीबार, ०९ असार २०७९, ०७ : ५३
मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्।

अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि नेकपा एसको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको बताएका हुन्। मन्त्री हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अलपत्र पारेपछि नेकपा एस अध्यक्ष नेपाल पार्टीभित्रैबाट दबाबमा परेका छन्।  

नेकपा एसले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको तीन साता पुग्न लागेको छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालका कारण आफ्ना मन्त्री फिर्ता नभएको नेकपा एसको भनाइ छ। ‘केही दिन पर्खनुस् भन्नुभयो तर कांग्रेस र माओवादीको आन्तरिक समस्यालाई लिएर हाम्रो पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीले आनाकानी गर्नुभएको छ,’ पार्टी सचिवालयको बुधबारको बैठकमा अध्यक्ष नेपाललाई उद्धृत गर्दै एक नेताले भने। स्थायी कमिटीको सोमबार बसेको बैठकमा पनि नेपालले यस्तै गुनासो गरेका थिए।  

सचिवालय बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पछिल्लो कामकारबाहीको विषयलाई लिएर पनि तत्कालै मन्त्री हेरफेर गर्नुपर्ने नेताहरूले बताए। यो विषय सोमबार बसेको स्थायी कमिटी बैठकमा पनि उठेको थियो।

सचिवालय बैठकले मन्त्री हेरफेर तुरुन्त गर्न प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। हामीले प्रधानमन्त्रीलाई पुनः निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छौं,’ पार्टीका सम्मानित नेता झलनाथ खनालले भने। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस