काठमाडौँ । तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २–३ वटासम्म सर्पदंशका गम्भीर बिरामी भर्ना हुने गरेका छन्।
‘सर्पले टोकेका बिरामीको संख्या दैनिक ५–६ जनासम्म पुग्ने गरेको छ,’ सेती प्रादेशिक अस्पतालका सर्पदंश उपचार संयोजक डाक्टर शेरबहादुर कमरले भने, ‘तीमध्ये २–३ जना धेरै विषालु सर्पले टोकेका बिरामी अउने गरेका छन्।’उनले मानिसको लापरबाहीका कारण सर्पदंशका बिरामी बढ्ने गरेको बताए। रातिमा होसियारी नअपनाई हिँड्डुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण सर्पदंशका बिरामी बढ्ने गरेको उनले बताए।
‘तराईका बढी विषालु सर्प गोमन र करेत हुन्,’ कमरले भने, ‘ती सर्प सुख्खा ठाउँमा बस्न रुचाउँछन्, करेत ओच्छ्यानमै पनि लुकेर बसेको हुन्छ, राति सुत्दा राम्ररी नहेरेर सुत्ने बानीले ओच्छ्यानमै सर्पले टोक्ने गरेको भेटिएको छ।’ सुतेको बेला करेत सर्पले टोकेको थाहा नपाएरै कतिपय बिरामीको मृत्यु हुने गरेको कमर बताउँछन्।सुतेको बेला करेत सर्पले टोकेको थाहा हुँदैन। कमरका अनुसार करेतले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्षण भए पनि ज्वरो आउँदैन। ‘सर्पले टोकेको थाहा नपाउने धेरैले ग्यास्ट्रिक भएको भन्दै सामान्य औषधि खाने गरेका छन्। धेरै स्वास्थ्यकर्मीले सर्पले टोकेको पनि थाहा पाउँदैनन्,’ कमरले भने, ‘सेती अस्पतालमा कार्यरत पुराना स्वास्थ्यकर्मीले त्यस्ता बिरामी पत्ता लगाउन सक्छन्। यदि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्नेजस्ता लक्षण देखिए बिरामीले तुरुन्त सेती अस्पतालको इमर्जेन्सीमा आएर देखाउँदा राम्रो हुन्छ।’
करेत सर्पले टोकेका बिरामी ४–५ घन्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने उनले बताए। कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन्। जसले नसामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ।
तर गोमन सर्पले टोकेको खण्डमा भने एक डेढ घन्टामै सर्पदंशको उपचार भएका अस्पताल पुग्नुपर्ने उनको सुझाव छ। ‘गोमन सर्पले करेतजस्तो लुकेर टोक्दैन। गोमन भएको ठाउँ नजिक जाँदा उसले पहिलानै मानिसलाई चाल दिन्छ,’ कमरले भने, ‘तर जबर्जस्ती गरेमा गोमनले झम्टन पनि बेर लगाउँदैन।’
गोमन सर्प दाउराको थुप्रो, झाडी भएका सुख्खा स्थानमा बस्न रुचाउने हुँदा त्यस्ता स्थानमा जाँदा मानिसले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।
डा. कमरका अनुसार कैलाली कञ्चनपुरमा अझै पनि सर्पले टोकेमा धामीझाँक्रीमार्फत झरफुक गराउने परम्परा कायमै छ। जसकारण कतिपय मानिसको मृत्यु हुने र कतिपयलाई बचाउन धेरै मिहिनेत गर्नुपरेको उनले बताए। ‘सर्पले टोकेपछि तुरुन्त नजिकको अस्पताल जानुको सट्टा अझै पनि धामीझाँक्रीलाई देखाउने गरेको पाइन्छ,’ उनले भने, ‘बिरामी मर्ने अवस्थामा मात्रै अस्पताल पुर्याइने गरिन्छ। त्यस्ता बिरामीलाई बचाउन धेरै मेहनत गर्नु पर्दछ।’
केही दिनअघि मात्रै कैलालीको गोदावरी नगरपालिका–१० स्थित मालाखेतीका बिरामी पनि धामीझाँक्रीको भरमा परेर अन्तिम अवस्थामा मात्रै अस्पताल आएको उनले बताए। ‘उनलाई बचाउन धेरै मेहनत गर्नुपर्यो, उनीजस्ता धेरै बिरामी यहाँ आउने गरेका छन्,’ उनले भने।
कैलाली कञ्चनपुरका ठाउँठाउँमा सर्पदंश उपचार केन्द्र हुँदाहुँदै पनि मानिसले धामीझाँक्रीको भर परेर आफ्नो ज्यान आफै जोखिममा पार्ने गरेको उनको गुनासो छ। ‘फुकफाक गर्ने भए पनि तत्काल फुकफाक गरेर अस्पताल पठाइदिनुहोला भनेर कतिपय धामीझाँक्रीलाई मैले सम्झाउने गरेको छु,’ कमरले भने, ‘स्थानीय तहले पनि आफ्नो वडामा रहेका धामीझाँक्रीलाई सम्झाउने अभियान चलाउनु आवश्यक देखिन्छ।’
सेती प्रादेशिक अस्पतालमा हाल १७ वटा आइसियु बेड र १२ वटा भेण्टिलेटर बेड छन्। पछिल्लो समय सबै आइसियु र भेन्टिलेटर बेड सर्पदंशका बिरामीले भरिने गरेका कमर बताउँछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १५ : २८
लेखकबाट थप