काँक्रेविहार म्याराथन : एक हजारभन्दा बढीले भाग लिँदै

सफल खबर संवाददाता

सोमबार, ०६ असार २०७९, १६ : ०४
काँक्रेविहार म्याराथन : एक हजारभन्दा बढीले भाग लिँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२२ को अवसरमा असार ७ गते मंगलवार आयोजना गरिएको काँक्रेविहार हाफ म्याराथनमा एक हजारभन्दा बढीले भाग लिने भएका छन्।कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरले आयोजना गरेको उक्त म्याराथनमा विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशस्‍त्र प्रहरी बल, विभिन्न विद्यालयहरु, र खुल्ला तर्फबाट खेलाडीहरुले सहभागिता जनाउन लागेको आयोजक संस्थाका प्रोप्राइटर संजिव हमालले जानकारी दिए।

उनका अनुसार त्रिभुवन आमी क्लबबाट ४ जना, नेपाल नेपाल प्रहरीबाट ३ जना, ए।पि।एफ।बाट २ जना, नेपाली सेना पश्चिम कमाण्डबाट ११८ जना विभिन्न विद्यालयहरुबाट ११० जना अन्य खुल्लातर्फबाट २९५ जनाको सहभागिता रहनेछ।

स्थानीय वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताए।

उनका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ।

यो प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचार हुने, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने आयोजकको भनाइ छ। प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन्। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस