माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ति

सोमबार, २५ मंसिर २०७४, १९ : ०८
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ति


संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिङ्गो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनलाई ऐतिहासिक अनुमोदनका लागि म देशभित्र र बाहिर रहनुभएका सबै आमाबुवा, दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु ।

वाम गठबन्धनको विजयसँगै देशमा अब राजनीतिक स्थायित्व र आर्थिक सम्बृद्धिको नयाँ युग सुरु भएको छ । यो ऐतिहासिक परिणामका लागि अथक रुपमा क्रियाशील नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का देशैभरिका नेता–कार्यकर्ता बधाई र धन्यवादका पात्र हुनुुहुन्छ ।

अहिलेको विजयलाई हाम्रो परीक्षा र जिम्मेवारीका रुपमा लिन र संयमपूर्वक राष्ट्रिय सम्बृद्धिका लागि थप क्रियाशील हुन म सबै वामपन्थी नेता, कार्यकर्ता र आम जनतालाई हार्दिक आग्रह गर्दछु ।

म निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि धन्यवाद ज्ञापन गर्दछु । अब सरकारबाट संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु ।

ममाथि विश्वास गर्ने चितवन क्षेत्र नं। ३ का सबै मतदाताप्रति म अत्यन्त आभारी छु । आउँदा दिनमा बिना भेदभाव सिङ्गो चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक सम्बृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक सम्बृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता दोहोर्याउँछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा (माओवादी केन्द्र)
२०७४, मंसिर २५

 

प्रतिक्रिया दिनुहोस