बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुन: निर्वाचन गर्ने सर्वदलीय सहमति

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १७ : ३१
बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुन: निर्वाचन गर्ने सर्वदलीय सहमति

काठमाडाैँ। बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुन: निर्वाचन गर्ने सहमति भएको छ। वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुबै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो। 

नेकपा एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर,  विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्। दुईटा बुथमा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चारवटामा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो। निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि फेरि चुनाव गर्ने निर्णय लिएको थियो। नेपाली कांग्रेसबाट रंग खाती मेयर र रिता शाही उपमेयर छन् भने एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस