अस्पतालमा पैसा तिर्दा नक्कली नोट दिएपछि नोट छाप्ने र प्रयोग गर्ने दुवैजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १५ : १९
अस्पतालमा पैसा तिर्दा नक्कली नोट दिएपछि नोट छाप्ने र प्रयोग गर्ने दुवैजना पक्राउ

काठमाडाैँ। अस्पतालमा पैसा तिर्दा नक्कली रकम प्रयोग भएपछि कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्।सोही ठाउँस्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोर प्रहरीले हिजो पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका–३ स्थित सडकमा ती किशोरले चलाएको लु ८५ प ५१८४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्री घाइते भएका थिए। 
साइकलयात्री र मोटरसाइकल चालकलाई स्थानीय माया मेट्रो अस्पतालमा उपचार गराई दुवैजना डिस्चार्ज हुने क्रममा ती किशोरले पैसा तिर्दा १ थान नक्कली नोट फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। थप सोधपुछका क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो।

साथै उक्त फोटो स्टुडियोबाट १ हजार दरका २ थान नक्कली नोट, ५ थान रंगिन मसिका डिब्बा, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेशन मेसिन, १ थान किबोर्ड, १ थान कैँची, २ थान ब्लेड, एक हजार दरका १ थान बिग्रेका नक्कली नोट र १ सय दरका २ थान बिग्रेका नक्कली नोट समेत प्रहरीले बरामद गरेको छ। उनीहरूउपर प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस