अमेरिकासँगको पराजयपछि कप्तान लामिछानेको प्रतिक्रिया– अनुभवी खेलाडीको कमीले जित्ने खेल पनि हारियो

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १३ : ३१
अमेरिकासँगको पराजयपछि कप्तान लामिछानेको प्रतिक्रिया– अनुभवी खेलाडीको कमीले जित्ने खेल पनि हारियो

काठमाडाैँ।आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा अमेरिकासँग पराजित भएपछि कप्तान सन्दीप लामिछानेले सबै खेल जित नजिक पुगेर हारेको प्रतिक्रिया दिएका छन्। उनले सबै खेल जित्ने अवसर हुँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हारको बताएका हुन्। 

कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने उल्लेख गरे। अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको उनको भनाइ छ। खेल हार्नुमा अनुभवी खेलाडीको कमी हुनु मुख्य कारण गरेको लामिछानेले बताए। ‘हामीसँग अनुभवी खेलाडी कम भए। म पनि कम्पानीमा नयाँ हुँ। सबै खेलाडी नयाँ भएका कारण पनि यो पटकको खेल सिकाइकै चरणमा गयो’, उनले भने। 

आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने उनले बताए। आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताए। 

आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ। घरेलु टोली अमेरिकाले जितका लागि प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २०६ रन मात्र बनायो।
 
नेपालका लागि आरिफ सेखले अर्थशतकीय पारी खेले। उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन्। आरिफले ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट भएभने सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रन बनाएर रन आउट भएका थिए। 

त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट भए। नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाए भने सागर ढकाल १ रनमा अविजित रहे। कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सकेनन्।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र अलि खानले समान ३÷३ विकेट लिए भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १/१ विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो।

अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले आरोन जोन्स ४३, सैटेजा मुक्कामल्लले ३६ रन बनाएका थिए। नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए।

त्यस्तै सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस