पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १३ : १३
पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे ।

भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिए ।

‘मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरू निरन्तर भइरहनु आवश्यक हुन्छ, यसले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘एक्स्पोहरूमा स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी तिनको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।’

उनले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गरे । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस