विराटनगर । रेल्वेका संरचना निर्माणका कारण विराटनगर महानगरको दक्षिणी क्षेत्रमा हुने डुबानको विषयमा भारतीय पक्षको ध्यानाकर्षण गरिएको छ । भारतको बथनाहा हुँदै विराटनगरसम्म कार्गो रेल सञ्चालन गर्ने तयारीअनुरूप भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
नगरबासीले रेल्वे संरचनाका कारण हुने गरेको डुबानको विषयमा महानगरको ध्यानाकर्षण गरेसँगै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भारतीय पक्षसँग छलफल गरेका हुन् । एकीकृत भन्सार जाँचचौकी ९आईसीपी०का कारण हुने डुबानको समस्या समाधानका उपाय खोज्न कोइरालाले भारतीय पक्षसँग छलफल गरेका छन् । भारतीय दूतावासका फस्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आईसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै गराएका छन् । कोइरालाले भने, “सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आईसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । समस्या समाधानको उपाय खोज्नुपर्ने देखिन्छ ।” आईसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी रोकिएर नेपालतर्फको बस्ती डुबानमा पर्ने गरेको छ ।
कोइरालाले पानीको सहज निकासका लागि प्राविधिक रूपमा के गर्न सकिन्छ काम अघि बढाइनुपर्ने कोइरालाले भारतीय पक्षलाई ध्यानाकर्षण गराएका छन् । त्यस्तै, भारतीय पक्षले आइसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माणमा सहजीकरण गरिदिन मेयर कोइरालासमक्ष आग्रह गरेको थियो । दूतावासका फस्ट सेक्रेटरी बंसालले ओभरहेड ब्रिज र छेउछाउका टहराका कारण रेलमार्ग निर्माणले गति लिन नसकेको बताए । उनले भने, “रेलमार्गमा पर्ने ओभरहेड ब्रिजबाट सर्वसाधारणको आवतजावतमा रोक लगाउन र छेउछाउका टहरा हटाइदिन आग्रह गर्दछौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असार २०७९, १२ : ०९
लेखकबाट थप