कतार विश्वकप: अब ५ खेलाडी फेर्न पाइने‚ टोलीमा २६ जना

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १७ : १७
कतार विश्वकप: अब ५ खेलाडी फेर्न पाइने‚ टोलीमा २६ जना

काठमाडाैँ । कतारमा हुने फिफा विश्वकपमा पाँचजना खेलाडी  परिवर्तन (सबस्टिच्युट) लाई निरन्तरता दिइने भएको छ। फुटबलको नियमनकारी निकाय फिफाले विश्वकप शुरु हुनु पाँच महिनाअघि नियम बदल्ने निर्णय गरेको हो। अब खेलमा टिमले अतिरिक्त विकल्पको प्रयोग गर्न पाउनेछन्।यसअघिको विश्वकपमा प्रशिक्षकले एउटा खेलमा तीनजना खेलाडी बदल्न पाउँथे। अब पहिलोपटक प्रतिखेल एक टिमले पाँचजना खेलाडी बदल्न सक्नेछ।

कोरोना कालमा गरिएको थियो नियम परिवर्तन

कोरोनाका कारण २०२० मा खेलाडीको फिजिकल फिटनेस तथा मेन्टल हेल्थलाई ध्यान दिँदै सब्सटिच्युटको संख्या अस्थायी रूपमा ३ बाट ५ मा पुर्‍याइएको थियो। तर अब यो अस्थायी प्रावधानलाई स्थायी गरिएको छ। विश्वभरको घरेलु लिग तथा च्याम्पियन्स लिगमा पनि यो नियम लागू गरिएको थियो।

फिफाले प्रतियोगिताका लागि रोस्टर (टिम) मा पनि विस्तार गर्ने निर्णय गरेको छ। अब टिम मा २३ खेलाडीको ठाउँमा बढीमा २६ खेलाडीलाई सहभागी गराउन पाइनेछ।

लगातार तेस्रो विश्वकपमा नयाँ नियम

 यो लगातार तेस्रो विश्वकप हो जहाँ पहिले भएको नियम बदलिएको छ। २०१४ को ब्राजिल विश्वकपमा गोल लाइन टेक्नोलोजीको शुरुवात गरिएको थियो। त्यस्तै २०१८ मा रसिया विश्वकप भिडियो असिस्टेन्ट रिभ्यु (भिएआर) शुरु गरिएको थियो। योपटक खेलाडी संख्या र सब्सटिच्युटमा परिवर्तन गरिएको हो।

गर्मीका कारण यो नियम जरुरी 

इङलिस क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलले यो निर्णय महत्त्वपूर्ण र अत्यावश्यक भएको बताए। 'कतारमा जुन-जुलाईमा धेरै गर्मी हुन्छ, त्यसैले यो पटक नोभेम्बर डिसेम्बरमा प्रतियोगिता सारिएको छ। तैपनि खेलाडीले गर्मीका कारण पूरै समय खेल्न असमर्थ हुने सम्भावनामा यो निर्णय महत्त्वपूर्ण हुनेछ।' 

२०२० को कोरोना महामारीका कारण कैयौं क्लब प्रतियोगिता स्थगित गरिएको थियो। कतिपय फुटबल प्रतियोगिताहरू चाँडै सक्नु परेको थियो। विश्वकपअघि नै नयाँ सिजन शुरु हुने साथै तयारीका लागि अन्य देशसँग पनि प्रतिस्पर्धा हुने भएकाले रोस्टरमा धेरै खेलाडी राखेर अभ्यास गराउँदा टोलीले कुनै एक खेलाडीमाथिको दबाब कम गर्न सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस