चितवन बिशेष

प्रचण्डको उम्मेदवारी आर्थिक समृद्धिको ढोका

शुक्रबार, १७ कार्तिक २०७४, १३ : १८
प्रचण्डको उम्मेदवारी आर्थिक समृद्धिको ढोका

 चितवन । प्रतिनिधि सभा निर्वाचनको लागि चितवन क्षेत्र नम्बर एकबाट उम्मेदवारी दर्ता गराएपछि पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले यस्तो प्रतिक्रिया दिए, देश अब स्थिर सरकार निर्माण र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नेछ । निर्वाचनपछि वाम गठबन्धनको एकमना सरकार बनाएर देशमा राजनीतिक स्थिरता कायम गर्दै आर्थिक विकासको माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने उनको आसय थियो ।


उनले भने, इतिहासले चितवनको आर्थिक विकास र समृद्धिको जिम्मेवारी हामी दुई भाइको काँधमा आउनेवाला छ । उनले भनेका दुई भाइमध्ये एक जना उनी स्वयं हुन् भने अर्का व्यक्ति हुन् पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । दुई पटक प्रधानमन्त्री बनेर देशको बागडोर सम्हालेका प्रचण्डको उम्मेदवारी आर्थिक समृद्धिको ढोका बनेको र प्रचण्डको जितपछि यो ढोका खुल्ने चितवनवासीले अनुमान गरेका छन् । चितवनको विकाससँगै देशकै विकास र समृद्धिको नेतृत्व लिनका लागि आफूले चितवनबाट उम्मेदवारी दिएको प्रचण्डले स्पष्ट पारिसकेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर तीनबाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उम्मेदवारी दर्ता गरेर फर्कने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारीले जनतामा उत्साह जागेको बताएका छन् । शान्ति प्रकृयामा आएपछि विगतमा रोल्पा, काठमाडौँ र सिराहाबाट निर्वाचित भएका प्रचण्डको उम्मेदवारीले चितवनवासीलाई साँच्चै नै उत्साही बनाएको छ ।


दुई पटकसम्म सरकारको नेतृत्व गरिसकेका व्यक्तित्व प्रचण्डको जितले चितवनलाई विकासको अपार सम्भावना र समृद्धिको बाटोमा डो¥याउने निश्चित छ । जिल्लाको करिब आधा भाग ओगटेको भरतपुर महानगरपालिका र जिल्लाका बाँकी नगरपालिकामा वाम गठबन्धनकै नेतृत्व रहेका बेला प्रचण्डको चितवन आगमनले विकासलाई गति दिन सघाउ पुग्नेछ । गाईघाटदेखि गोलाघाटसम्मको भरतपुर महानगर र लोथरदेखि मौवाखोलासम्मको सिंगो चितवनको विकासमा प्रचण्डको जितले निर्णायक र प्रभावकारी भूमिका खेल्नेमा शंका गर्ने ठाउँ देखिँदैन ।


वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर तीनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, क्षेत्र नम्बर एकबाट पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर दुईबाट नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।


चितवनमा नेपाली काँग्रेससहितको लोकतान्त्रिक गठबन्धनभन्दा बलियो देखिएको संयुक्त वाम गठबन्धनले चितवन जिल्लालाई लालकिल्लामा परिणत गर्ने जिल्लावासीको अनुमान छ । यो अनुमान सत्यमा परिणत भएपछि जिल्लासँगै देशमा नै विकास र आर्थिक समृद्धिको ढोका खुल्नेछ । स्थानीय तहको निर्वाचनमा कायम भएको वामपन्थी वर्चश्व प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि अझ बलियो हुनेछ ।

प्रतिक्रिया दिनुहोस