विश्वकप फुटबलमा एशियाबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै

सफल खबर संवाददाता

मंगलबार, ३१ जेठ २०७९, १३ : १८
विश्वकप फुटबलमा एशियाबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौं । फिफा विश्वकप फुटबलमा एशिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।अन्तर–महादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छानिएसँगै एशियाली टिमको संख्या ६ पुगेको हो ।

आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाउँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै पुगेका हुन् । ३२ टिमले खेल्ने विश्वकपमा यस पटक एशियाबाट अहिलेसम्मकै धेरै टिमले खेल्न पाउने भएको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एशियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा पनि खेलेका थिए । यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एशियन टिम समावेश छन् ।

एशियाबाट अन्तिम टिममा रुपमा छानिएको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ । यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

प्रतिक्रिया दिनुहोस