छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ जेठ २०७९, १७ : ००
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङ छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलि रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् । 

बर्दियाको बासगढी नगरपालिका–८ स्थित चोकमा बाग्मती प्रदेश ०३–०१–००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको कोशी गाउँपालिका–५ स्थित सडकमा को.२ च ३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट आइतबार विहान एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पैदलयात्री सोही गाउँपालिका–७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहता रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो । 

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्रयाक्टरको ठक्करबाट आइतबार विहान पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।