वडाध्यक्षहरुले बहिष्कार गरेपछि धरानमा उपमहानगर कार्यपालिकाको बैठक स्थगित

पत्रपत्रिकाबाट

शुक्रबार, २७ जेठ २०७९, ०७ : ३४
वडाध्यक्षहरुले बहिष्कार गरेपछि धरानमा उपमहानगर कार्यपालिकाको बैठक स्थगित

धरान । मेयर हर्कराजन राई (साम्पाङ) का समर्थकहरुले धरान उपमहागनरपालिकाको मेनगेटअघि प्रदर्शन गरेपछि वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

आफूहरुलाई लक्षित गरेर प्लेकार्डसहित विरोध प्रदर्शन भएको भन्दै वडाध्यक्षहरु नआएपछि बिहीबार कार्यपािलका बैठक बस्न नसकी स्थगित भएको छ। जेठ २२ गते बसेको पहिलो बैठकले बिहीबार दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित भएको थियो। बिहीबार बैठक सुरु हुनुअघि करिब साढे १ बजेदेखि मेयर साम्पाङको समर्थनमा प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन भएको थियो। मेयर साम्पाङको निर्देशनमा उनको समर्थकहरुले आफूहरुविरुद्ध प्रदर्शन गरेको भन्दै वडाध्यक्षहरु असन्तुष्ट छन्।

मेयर साम्पाङको खोला उत्खनन गर्न ठेक्का लगाउन नहुने एजेण्डाप्रति समर्थन जनाउँदै प्रदर्शन भएको थियो। साथै, वडाध्यक्षहरुले मेयर साम्पाङको एजेण्डा अस्वीकृत गर्दे खोला ठेक्का लगाउने पक्षमा उभिएको भन्दै प्रदर्शनमा आएकाहरुले आलोचनासमेत गरेका थिए। उनीहरुले वडाध्यक्षहरुलाई लक्षित गरेर प्लेकार्डसमेत बोकेका थिए।

अघिल्लो कार्यपालिका बैठकमा जथाभावीरुपमा दोहोन भएको भन्दै खोला उत्खनन गर्न ठेक्का नलगाउने एजेण्डा प्रस्तुत गरेका थिए। वडाध्यक्षहरुको विमतिको कारण उनको एजेण्डा पारित हुन सकेन र अध्ययन गर्न मेयरकै संयोजकत्वमा एक कार्यदल बनाउने निर्णय भएको थियो।

वडाध्यक्षहरुले विकास निर्माणको लागि नदीजन्य पदार्थ आवश्यक पर्ने साथै, खोला च्यानलिङ नगर्दा बस्तीमा बाढी बसेर क्षति हुने भएकोले अध्ययन गरेर मात्र खोला ठेक्का लगाउने कि नलगाउने निर्णय गर्नुपर्ने अडान लिएका थिए।

मिडियालाई लाइभ गर्न अनुमति दिइएको बैठकमा वडाध्यक्षहरुको अभिव्यक्ति सार्वजनिक भएपछि मेयर साम्पाङका समर्थकहरुले चर्को आलोचना गर्दै भिडियो काँटछाट गरेर भाइरल बनाइरहेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस