त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, १६ : ००
त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी

काठमाडौँ  । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएको छ ।

त्यसपछि उत्पन्न परिस्थिति सामना गर्न आफूहरू तयार रहेको पनि अनेरास्ववियुले जनाएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षणमा नै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको अनेरास्ववियुले आरोपसमेत लगाएको छ । 'वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष संरक्षण, आफूलाई नेविसंघ र प्राध्यापकको नाममा विश्वविद्यालयलाई गैरप्राज्ञिक र असफल बनाउन राजनीति गर्ने झुण्डको समर्थनमा अहिले विश्वविद्यालय बन्द छ,' अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले विश्वविद्यालय बन्द गरेकोमा प्राध्यापक वर्ग त्रासमा रहेको र प्रेस जगत मौन बनेको भन्दै विज्ञप्तिमार्फत् चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'दुखद् पक्ष, यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन् । देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको तीन दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्नेछ, त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं । उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मावार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहान्छौं ।'

प्रतिक्रिया दिनुहोस