फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

सफल खबर संवाददाता

शनिबार, २१ जेठ २०७९, ०९ : ४०
फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । 

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ । पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागु हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस