कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते

रासस

सोमबार, १६ जेठ २०७९, २१ : ००
कागेश्वरी मनोहरामा कार्यपालिका निर्वाचन जेठ १९ गते

काठमाडौ। कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ । निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए ।

कार्यपालिका निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गतेको निर्वाचनमा काँग्रेस र नेकपा (माओवादी केन्द्र) का बीच गठबन्धन भएकाले आठजना कार्यपालिका सदस्यमध्ये एक जनामा माओवादीको पनि उम्मेदवारी परेको छ ।

नौवटा वडा रहेको नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । निर्वाचित नगरप्रमुख, उपप्रमुख, नौ वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४७ जना मतदाता रहेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यपालिकाको महिला सदस्य निर्वाचित मध्येबाटै हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यक सदस्य भने नगरपालिकाको मतदाता नामावलीमा नाम रहेका मध्येबाट उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत राउतले जानकारी दिए ।

नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका उपेन्द्र कार्की, उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका छन् । वडा नं १, ३, ४ एमालेले जितेको छ । काँग्रेसले वडा नं २, ५, ७, ८ र ९ जितेको छ । वडा नं ६ मा भने नेकपा एकीकृत समाजवादीका प्रकाश फुयाल विजयी भएका छन् । 

विसं २०७४ को स्थानीय तह निर्वाचनमा भने नगरप्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमालेले जीत हासिल गरेको थियो । त्यसबेला निर्वाचित नगरप्रमुख कृष्णहरि थापा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए ।। यसपटक पनि निर्वाचन लड्नुभएका थापा तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस