जीत पक्का भएपछि पाँच दलीय गठबन्धनले भोलि भरतपुरमा विजय र्याली निकाल्दै

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १७ : ५६
जीत पक्का भएपछि पाँच दलीय गठबन्धनले भोलि भरतपुरमा विजय र्याली निकाल्दै

चितवन । पाँच दलीय गठबन्धनले भरतपुरमा वृहत विजय र्याली निकाल्ने भएको छ । भरततपुर महानगरमा मेयर–उपमेयर जित्ने सुनिश्चित बनेपछि विजय र्याली निकाल्न लागिएको हो । पाँच दलीय गठबन्धन चितवनका संयोजक तथा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भोलि मंगलबार बिहान १० बजे र्याली निकाल्ने तयारी भएको जानकारी दिए ।

महानगरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीलाई साझा उम्मेदवार बनाएर सत्तागठबन्धन चुनावमा होमिएको थियो । मेयर–उपमेयर दुबैमा फराकिलो मतान्तर सहित जित नजिक पुगेपछि पाँच दलीय गठबन्धन उत्साहित बनेको छ । भरतपुर महानगरको आजै राती मतगणना कार्य सकिने सम्भावना छ ।

मंगलबार विहान सपथग्रहणको कार्यक्रम सकिए लगत्तै विजय र्याली निकालिने योजनामा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका जिल्ला समितिहरुले तयारी बढाएका छन् । मालपोतचोकबाट सुरु हुने विजय र्याली रामनगर, मेघौलीसम्म पुगेर आउने जनाइएको छ । र्याली पछि गेष्टहाउस चौरमा विजय उत्सव मनाउने योजना रहेको खनालले बताए ।

र्याली आँपटारी, रामनगर, जुगेडी, नारायणगढ बजार, बेलचोक, धर्मचोक, डेरिचोक, फनपार्क हुँदै दुर्गाचोक, मंगलपुर, रामपुर हुँदै चनौली, पर्साढाप, मेघौली, जितपुर, शुक्रनगर, जगतपुर, पटिहानी, गितानगर कृष्णपुर लगायतका क्षेत्रमा पुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस