मंकीपक्सको संक्रमण फैलिन सक्छ, सावधानी अपनाउनूः स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १४ : ३३
मंकीपक्सको संक्रमण फैलिन सक्छ, सावधानी अपनाउनूः स्वास्थ्य मन्त्रालय

मंकीपक्सको संक्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ।अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइ र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए।

उनले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुन पानीले तत्काल सफा गर्नुपर्ने बताए।सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरुमा निगरानी बढाएको बताए। विश्व स्वास्थ्य संगठनको केन्द्रिय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि उनले बताए।

सहप्रवक्ता अधिकारीले भने, ‘विदेशबाट आउनेहरुले कम्तिमा दुई हप्ता क्वारेन्टाइनमा बसिदिनुहोला। व्यक्तिगत सरसफाइको कुराहरु बढी महत्वपूर्ण छ। कुनैपनि चिजहरु सकेसम्म नछुने, छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ। यस्तो गर्दा हामीमा यदि भाइरस आएको छ भने पनि निस्क्रिय भएर जान्छ। कसैको शरीरबाट निस्किएका छिटाहरु हाम्रो शरीरमा आइनपुगोस् र हामीबाट अरुको शरीरमा नपुगोस् भन्न मास्कको प्रयोग गर्नुपर्छ। कोही त्यो क्षेत्रबाट आएको व्यक्ति छ, जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, जिउ चिलाउने भएको छ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्‍यौँ भने त्यसको उपचार गर्न सहज हुन्छ र अरुलाई पनि सर्दैन।’

सहप्रवक्ता अधिकारीले मंकीपक्स शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, विमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखापर्ने बताए। उनले यो संक्रमण अधिकांश बालबालिकाहरुमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे।

मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको उनले जानकारी दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफै हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए।

मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको पनि उनले बताए। मंकीपक्सको भ्याक्सिन उत्पादन भएर प्रयोगमा आइसकेको पनि उनले जानकारी दिए।

मंकीपग्स मध्य र पश्चिमी अफ्रिकी देशहरुका घना जंगलमा रहेका जनावरहरुको सम्पर्कमा आउने मानिसहरुमा हुनसक्ने भाइरस हो। प्रायः मुसा प्रजातिका जनावरहरुमा यसको भाइरस रहन्छ। ती जनावरहरुको शरीरबाट निस्किएका थुकका छिटाहरु, र्‍याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरुको मासु प्रयोग गर्ने मानिसहरुमा यो संक्रमण हुनसक्छ।

यो संक्रमण मान्छेबाट मान्छेमा हुने सम्भावना न्यून रहेको हालसम्मको अध्ययनले देखाएको छ।

 

प्रतिक्रिया दिनुहोस