चुनाव सकियो, फर्किए ‘परदेशी’

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १४ : १२
चुनाव सकियो, फर्किए ‘परदेशी’

नेपालगञ्ज । नेपालगञ्ज नाकामा यतिबेला भारततिर जाने नेपालीको भीड छ। किनमेलका लागि जाने नेपालीले गर्दा सधैँ भीड हुने यो नाकामा अहिले भोट हालेर पुनः काममा फर्किरहेका नेपालीको भीड देख्न सकिन्छ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भाग लिन भारतमा रहेका नेपाली घर फर्किएका थिए। चुनाव सकिएपछि उनीहरु पुनः रोजगारीका लागि भारततर्फ लागेका हुन्।नेपालगञ्ज पश्चिमको चलनचल्तीको नाका मानिन्छ। यो नाका भएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मानिस भारतका विभिन्न सहरमा कामका लागि जाने गर्छन्। कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानका मानिसको यो नाकाबाट ओहोरदोहोर हुने गर्दछ।

‘मौसमी’काममा जाने नेपाली विशेष अवसरहरुमा घर फर्किने गर्दछन्। चाडबाडमा र खेतिपाति लगाउन उनीहरु घर फर्किन्छन्। यसपाली चुनावमा भोट हाल्न आएका नेपालीहरु अहिले लर्को लागेर भारततिर फर्किरहेका छन्।नेपालगञ्ज नाकाबाट दैनिक सात सयभन्दा बढी मानिस भारत फर्किरहेका छन्। चुनाव सकिएसँगै फर्किनेको लर्को लागेको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले जानकारी दिए। ‘भोट हाल्न आएका नेपालीहरु धमाधम फर्किरहेका छन्,’ जमुनाहाका इन्चार्ज रिजालले भने, ‘दैनिक सात सय बढी फर्किरहेका छन्। यो संख्या बढ्दो छ।’

भारतको सिमला, कालापहाड, प्रयाग, चण्डीगढलगायतका ठाउँमा नेपालीहरु बेमौसमीकामका लागि जाने गर्दछन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका मानिस यी ठाउँमा गएर मजदुरी गर्छन्। कतिपय परिवारसँगै गएका हुन्छन्। पहाडी जिल्लाका मानिस समूह नै बनाएर मौसमी कामका लागि जाने गर्छन्।

आफ्नै उत्पादनले खान नपुग्नेहरु भारतमा मजदुरी गरेर जोहो गर्ने गर्दछन्। भारत जाने र आउने यस्ता मानिसहरु नेपालगञ्ज नाकामा बाह्रैमास देखिन्छन्। फरक यति हो, चाडबाड, खेतिपाति र चुनावहरुमा धेरै देखिन्छन्, अरुबेला कम।

भोट हालेर फर्किएका मानिस केही समयपछि फेरि घर फर्किन्छन्, खेति लगाउन। खेति लगाएर जानेहरु चाडबाडमा फर्किन्छन्। यो उनीहरुको वार्षिक तालिका नै हो भन्दा हुन्छ।

प्रतिक्रिया दिनुहोस